नवलपरासीमा नांगो जुलुस (भिडियो)
नवलपरासी, चैत्र १२ । उद्योगहरुको मिलमतोका कारण मूल्य निर्धारणमा ढिलाइ भएको भन्दै नवलपरासीमा उखु किसानहरुले नांगो जुलुस प्रदर्शन गरेका छन् ।
किसान हकहीत संघर्ष समितिले दबाबमूलक कार्यक्रम सन्चालन नगर्दा मूल्य निर्धारणमा ढिलाइ भएको भन्दै उनीहरुले विहीबार नांगो जुलुस प्रदर्शन गरेका हुन् ।
उखु काटेर सकिएसँगै चिनी मिल बन्द गरिएको तर मूल्य निर्धारण नगरिएको गुनासो किसानहरुले गरेका छन् । किसानको प्रदर्शनमा नागरिक समाजले पनि ऐक्यबद्धता जनाउँदै तत्काल मूल्य निर्धारण गर्न माग गरेका थिए ।
प्रदर्शनपछि किसानहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएका छन् । ज्ञापनपत्रमा मूल्यबृद्धि गर्न नसके पनि गत वर्षको ४ सय ७६ रुपैयाँ मूल्य निर्धारण गरी किसानलाई भुक्तानीको व्यवस्था मिलाउन माग गरिएको छ । अब पनि मूल्य निर्धारण नभए आमरण अनसन बस्ने चेतावनी ज्ञापनपत्रमा दिइएको छ ।
यसवर्ष मात्र जिल्लामा २२ लाख क्विण्टल उखु उत्पादन भएको थियो । मूल्य निर्धारण नभएपछि चिनी उद्योगीहरु बिचौलियामार्फत् प्रतिक्विन्टल ३ सय ७५ देखि ३ सय ४० सम्ममा उखुको पूर्जि बेच्न बाध्य भएको किसानहरुले बताएका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...