पूर्वकप्तान विनोद दासले लिए संन्यास, भने‘खेलाडी जीवनबाट सन्तुष्ट छु’
काठमाडौं, चैत्र २८ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले खेलाडी जीवनबाट संन्यास लिएका छन् ।
अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको मैत्रीपूर्ण खेलको कप्तानी सम्हाल्दै अल राउन्ड प्रदर्शन गर्नेक्रममा एक विकेट लिनुका साथै २९ बलमा ४१ रन बनाउँदै दासले खेलाडी जीवन सकाएका हुन् ।
केही दिनअघि नै यो खेलसँगै संन्यास लिने बताएका विनोद दासको खेल हेर्न ठूलो संख्यामा दर्शक कीर्तिपुर मैदान पुगेका थिए । १७ वर्षे खेलाडी जीवनबाट संन्यास लिएका विनोदले दर्शक र समर्थकको मायाले आफू निकै भाग्यमानी र सन्तुष्ट भएको प्रतिक्रिया दिए ।
संन्यास लिनेक्रममा विनोदलाई ६३ हजार रुपैयाँ दिइएको र छिट्टै कारसहित बिदाइ गरिने नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बताए ।
सन् १९९७ मा हङकङमा भएको एसीसी यु–१९ कपमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका विनोदकै कप्तानीमा नेपालले सन् २००१ मा काठमाडौंमा भएको एसीसी यु–१९ कप जितेको थियो । विनोदका नाममा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने कीर्तिमान छ ।
सन् २००० मा शारजहाँमा भएको एसीसी ट्रफीमा युएईविरुद्धको खेलबाट राष्ट्रिय टिममा ‘डेब्यु’ गरेका विनोदले सन् २००५ देखि चार वर्ष राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए ।
राष्ट्रिय टोलीबाट ६८ खेल खेल्दै विनोदले ७६ विकेट लिएका छन् । सन् २०१२ को एसीसी ट्रफीयता भने विनोदले राष्ट्रिय टोलीबाट खेलेका थिएनन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...