हेटौंडामा गैंडाको आक्रमणः एकको मृत्यु, ७ जना घाइते, गैंडा हेर्न तँछाड–मछाड (फोटोफिचर)
हेटौंडा, चैत्र १६ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ रामनगरमा गैंडाको आक्रमणमा एक बृद्धाको मृत्यु भएको छ । आक्रमणमा अरु सात जना घाइते भएका छन् ।
मृत्यु हुने हेटौंडा उपमहानगरपालिका–८ की ६१ बर्षिया हरिमाया दाहाल हुन् । सोमबार बिहान जंगल छेउमा हिँडिरहेको अवस्थामा उनलाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो । गम्भीर घाइते दाहालको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गैंडालाई धपाउन खोज्दा बिच्किएको गैंडाले स्थानीयलाई आक्रमण गर्नुका साथै बजारमा प्रवेश गरेको थियो । गैंडा बजार पसेपछि सर्वसाधारणमा हो–हल्ला मच्चिएको छ । अरु घाइतेको पनि हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।
चितवन राष्ट्रिय निकुन्जबाट बिहान निस्किएको गैंडाले हेटौंडाको राप्तीरोड, बुद्धचोक, कमानेलगायतका स्थानमा सर्वसाधारणलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
निकुञ्जका कर्मचारी, सेना, प्रहरी र स्थानीयवासीले सहर पसेको गैंडालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । गैंडा हेर्नेको भीड हटाउन प्रशासनलाई हम्मे–हम्मे परेको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...