राष्ट्रपति चीनतर्फ प्रस्थान, समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्ने
काठमाडौं, चैत्र १२ । राष्ट्रपति डा. रामवरण यादव बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् ।
चीनको हेनान प्रान्तस्थित बोआओ सहरमा हुने कार्यक्रममा सहभागी हुन उनी विहीबार त्यसतर्फ गएका हुन् । राष्ट्रपति डा. यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुले बिदाइ गरेका थिए ।
राष्ट्रपति यादवसँग सहरी विकासमन्त्री डा. नारायण खड्का, कामु परराष्ट्र सचिव शंकरदास बैरागी, छोरी अनिता यादव, राष्ट्रपतिका सल्लाहकार सूर्य ढुंगेल र हरि शर्मा, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेतलगायत टोलीमा छन् ।
राष्ट्रपति यादवले शनिबार बिहान बोआओ फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग पनि भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति यादवको भ्रमणका क्रममा चीनले नेपाललाई १४ अर्बभन्दा बढीको आर्थिक ‘प्याकेज’ दिने बताइएको छ । राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग चीनको हेनानमा भेटवार्ता गर्ने क्रममा उक्त सहयोग प्याकेज घोषणा हुने तयारी गरिएको जनाइएको छ ।
राष्ट्रपति यादव ल्हासा हुँदै चैत्र १८ गते स्वदेश फर्कनेछन् । बोआओ फोरम फर एसियामा सहभागी हुन लागेका राष्ट्रपति डा. यादव यसअघि अक्टोबर २०१० मा भएको सांघाई एक्स्पोमा पनि सहभागी भएका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...