-->
फ्रान्समा भएको विमान दुर्घटनामा १ सय ५० को मृत्यु

काठमाडौं, चैत्र ११ । जर्मन वायुसेवा कम्पनी लुफ्थान्साको बजेट एअरलाइन्स जर्मनविङ्ग्सको एउटा विमान फ्रान्समा दुर्घटना हुँदा १ सय ५० जनाको निधन भएको छ ।

स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडर्फका लागि उडेको एअरबस ‘ए ३२०’ विमान फ्रान्सको दक्षिणी पर्वत श्रृंखलाको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनास्थलबाट भग्नावशेषहरु फेला पारिएको छ भने कोही पनि जीवित नरहेको बताइएको छ ।

विमानमा चालक दलका ६ सदस्य तथा १ सय ४४ यात्रु थिए । दुर्घटनास्थलबाट विमानको ‘ब्ल्याक बक्स’ फेला पारिएको छ । विमान दुर्घटनाबारे छानबिन सुरु भएपनि अहिलेसम्म दुर्घटनाको कुनै कारण पत्ता लाग्न सकेको छैन ।

विमान दुर्घटनामा पर्नुअघि ३८ हजार फिटको उचाईबाट झन्डै ८ मिनेटसम्म जमिनतर्फ झरेपनि ‘कन्ट्रोल टावर’सँग भने कुनैखाले आपतकालीन अवस्थाको सम्पर्क नगरेको बताइएको छ ।

विमानमा ६७ जना जर्मन नागरिक तथा ४५ जना स्पेनिस नागरिक सवार थिए । यसबाहेक अष्ट्रेलिया, टर्की, डेनमार्क, बेलायत, नेदरल्यान्ड्स र बेल्जियमका पनि केही यात्रु रहेको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा १६ जना जर्मन विद्यार्थी र दुई शिक्षक थिए, जो स्पेनमा एउटा शैक्षिक एवं साँस्कृतिक आदान–प्रदान कार्यक्रममा सहभागी भएर जर्मनी फर्कंदै थिए । (एजेन्सी) 



0 comments

प्रतिक्रिया दिनुहोस्...