-->
काठमाण्डु उपत्यकालाई केवलकारले फन्को मार्दै

काठमाण्डु,१२ चैत- काठमाण्डु उपत्यकामा यातायातको वैकल्पिक साधनका रुपमा केवलकारको सम्भाव्यता अध्ययनका लागि फ्रान्सेली सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । 

उपत्यकामा बढ्दो सवारी जाम र प्रदूषणलाई नियन्त्रण गर्न केवलकारको सम्भाव्यता अध्ययन गर्न फ्रान्सको सरकारी कम्पनी एमडिपी सिस्ट्रा कन्सोल्टियमलाई अनुमति दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जानकारी दिए ।

 ‘उपत्यकामा ट्याक्सी भाडाभन्दा आधा सस्तो र सार्वजनिक सवारीसाधनभन्दा पाँच गुणा बढी भाडा पर्ने भएपनि वैकल्पिक साधनका रुपमा केवलकार प्रभावकारी देखिएकाले अध्ययनका लागि अनुमति दिइएको हो,पौडेलले भने । 

सरकारले अनुदान दिए केवलकारको भाडामा अझ कमी गर्न सकिने मन्त्रालयले जनाएको छ । केवलकारलाई यातायातको वैकल्पिक साधनका रुपमा प्रोत्साहन गर्ने नीति सरकारले चालु आवको बजेट वक्तव्यमार्फत गरेपछि अहिले मन्त्रालयमा एक दर्जन सङ्घसंस्थाले सञ्चालनका लागि अनुमति माग गरेको मन्त्रालयका प्राविधिक अधिकृत जगन्नाथ घिमिरेले बताए ।

 नेपालमा विसं २०५५ देखि मनकामना दर्शन प्रालि र ‘चितवनकोइ’ले धादिङको कुरीनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केवलकार सञ्चालन गर्दै आएको छ । केवलकारमा दुर्घटनासमेत नहुने भएकाले सुरक्षित सवारीसाधनका रुपमा लिइने गरिएको छ ।

 करिब एक वर्षको सम्भाव्यता अध्ययनपछि उपत्यकामा केवलकार सञ्चालन गर्न सकिने वा नसकिने तथ्य ठोसरुपमा बाहिर आउने पौडेलले बताए । -पूर्णप्रकाश मिश्र ।
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

0 comments

प्रतिक्रिया दिनुहोस्...