सप्तरीमा भएको भीषण आगलागीमा बस्ती नै सखाप, १ सय ६० घर जलेर नष्ट
सप्तरी, चैत्र २७ । सप्तरीको रामपुराको मल्हनिया गाउँ विकास समिति वडा नम्बर ५ स्थित मल्हनियाँ टोलमा हिजो भएको भीषण आगलागीबाट ६५ परिवारका १ सय ६० घर जलेर नष्ट भएका छन् ।
दशरथ यादवको घरबाट अचानक सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । आगोबाट एक दर्जन भन्दा बढी पशु समेत जलेका छन् ।
आगलागी नियन्त्रणका लागि राजविराजबाट गएको दमकल ढिला पुग्दा क्षति बढी भएको हो ।
आगो लागेको करिब ४ घण्टा पछि मात्रै दमकल, स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।
आगलागीबाट अनुमानित २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
यद्यपी आगलागीबाट भएको क्षतीको बिवरण संकलन गर्ने प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगिसकेको छ ।
उता, सिरहाको अर्नामा गाविस– ४ मा पनि हिजै आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ भने करिब २८ लाख बराबरको क्षती भएको छ ।
स्थानीय कारी यादवको घरको भान्साबाट निस्केको आगोको झिल्काबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उता, रौतहटको भषेडवा गाविस वडा नं ६ लागेको आगलागीबाट ६ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिव १५ लाख रुपैयाँ बरावरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...