बाग्मतीमा बन्यो मानव साङ्लो (भिडियोसहित)
काठमाडौं, चैत्र २८ । बाग्मती नदी सरसफाई महाअभियानको एक सय हप्ता पुगेको अवसरमा शनिबार मानव साङ्लो बनाएर थप ऐक्यबद्धता जनाइएको छ ।
बिहान ७ देखि ९ बजेसम्म बाग्मती किनारमा लाखौँ हातहरु सफाइमा जुटे । बाग्मतीको दुबै किनारामा मानव साङ्लो बनाएर नदी सफाइ गर्न र फोहोर नगर्ने प्रणका लागि प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भए ।
प्रधानमन्त्री कोइराला, प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र संविधानसभा अध्यक्ष सुवास नेम्वाङका साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा.बाबुराम भट्टराई बाग्मती सफाइमा सहभागी भए ।
यसैबीच, राजधानीको तिलगंगामास्थित वागमती नदी किनारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले प्रकृतिको देन बाग्मती नदीलाई स्वच्छ र हराभरा राख्ने अभियानलाई निरन्तरता दिन सबैसँग आग्रह गरे ।
उनले बाग्मती नदी सफा र निर्मल बनाउने दायित्वलाई पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
यता, शंखमुलमा बाग्मती सरसफाइ महाअभियानमा सहभागी हुन पुगेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरसफाइ अभियानमा देखिएको जनसहभागिताले सरसफाइ आफ्नै लागि हो भन्ने चेतना अभिबृद्धि भएको बताउँदै राज्यले कानुनी प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।
सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको करिब २८ किमी क्षेत्रमा साङ्लो बनाइबएको हो । मानव साङ्लोमा करिब एक लाख मानिस सहभागी भएको मुख्यसचिव लीलामणी पौडेलले जानकारी दिए ।
मानव साङ्लोमा निजामति कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता,कार्यकर्ता र सर्वसाधारण सहभागी भए । 


0 comments
प्रतिक्रिया दिनुहोस्...