-->
पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन रुपाकोटमा हाइकिङ

पोखरा, चैत्र १९ । पोखरा आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन पर्यटकीय सम्भावना बोकेको कास्कीको रुपाकोटमा हाइकिङक सुरु गरिएको छ ।

कास्कीका पर्यटन व्यवसायीको सक्रियतामा रुपातालबाट रुपाकोटसम्म एकदिने ‘रोयल हाइकिङ’ सुरु गरिएको हो । ३० वर्षअघि बेलायती युवराज चाल्र्सले तीन दिन पदयात्रा गरेको क्षेत्रलाई ‘रोयल ट्रेक’ नामाकरण गरिएको थियो ।

अहिले पदयात्रा गर्न छाडिएको उक्त ट्रेकलाई घटाएर एकदिने रोयल हाइकिङ प्याकेज तयार पारिएको हो । हाइकिङमा अन्नपूर्ण, माछापुछ्रे, धौलागिरिलगायतका हिमश्रृंखला, तालहरुको मनोरम दृष्य, जंगलमा चराहरु हेर्दै रुपाकोटको प्राचीन ग्रामीण परिवेश अवलोकन गर्न सकिन्छ ।

नयाँ गन्तव्यको रुपमा सुरु गरिएको रोयल हाइकिङले पर्यटकलाई दोहोर्याएर पोखरा आउने तथा बसाइँ अवधि लम्ब्याउन सहयोग पुर्‍याउने पर्यटन व्यवसायी बताउँछन् ।

रुपातालबाट भीमसेन डाँडा, कोटभैरव मन्दिर, रुपाकोट रिसोर्ट हुँदै चिसापानीसम्म सात किलोमिटरको ट्रेकमा पाँच घन्टाको पदयात्रा बनाएर रोयल हाइकिङ प्याकेज तयार पारिएको छ ।

पोखरावाट लैजाने–ल्याउने तथा खाना र खाजाको व्यवस्था गरिएको प्याकेजको बाह्य पर्यटकका लागि ६० अमेरिकी डलर तोकिएको छ भने आन्तरिक पर्यटकका लागि चार हजार रुपैयाँ कायम गरिएको छ ।

0 comments

प्रतिक्रिया दिनुहोस्...